राष्ट्रपति रनिङ शिल्डको उपाधि जनशिक्षित मावि अर्जेवालाई, राङ्खानी दोस्रो

-


     सुजन आचार्य     
     मंसिर १४ गते २०८३ मा प्रकाशित


बागलुङ । जैमिनी नगरपालिकामा सम्पन्न सातौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ को उपाधि जनशिक्षित माध्यमिक विद्यालय अर्जेवाले जितेको छ।

मंसिर ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ८ स्वर्ण, ९ रजत र १२ कास्य गरी कुल २९ पदक प्राप्त गर्दै जनशिक्षित मावि अर्जेवा प्रथम भएको हो।
त्यस्तै, ८ स्वर्ण, ५ रजत र १३ कास्य गरी कुल २६ पदकसहित राङ्खानी माध्यमिक विद्यालय दोस्रो भएको छ। सर्वोदय जनक माध्यमिक विद्यालयले ७ स्वर्ण, २ रजत र ५ कास्य गरी १४ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको छ।

स्वर्ण पदकको संख्या जनशिक्षित र राङ्खानी माविको बराबर भए पनि रजत पदकमा अग्रता कायम गर्दै जनशिक्षित माविले उपाधि जितेको हो।

जैमिनी नगरपालिकाको आयोजना, नगर खेलकुद विकास समितिको सहयोग तथा सहारा क्लब कुश्मिसेराको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भएको थियो। प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थी खेलाडीहरूले विभिन्न खेल विधामा प्रतिस्पर्धा गरेका थिए।

विद्यालयस्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान, खेलकुदप्रति रुचि अभिवृद्धि तथा विद्यार्थीमा अनुशासन, आत्मविश्वास र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले आगामी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछन्।
अन्तिम पदक तालिका

स्थान विद्यालय स्वर्ण रजत कास्य जम्मा
प्रथम जनशिक्षित मावि अर्जेवा ८ ९ १२ २९
दोस्रो राङ्खानी मावि ८ ५ १३ २६
तेस्रो सर्वोदय जनक मावि ७ २ ५ १४
प्रतियोगितामा विजयी विद्यालय, सहभागी खेलाडी तथा प्रशिक्षकलाई आयोजकले बधाई ज्ञापन गरेको छ।