
बागलुङ । बागलुङ सदरमुकामस्थित मानव सेवा आश्रममा आश्रित असहाय तथा बेसहारालाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङले खाद्यान्न तथा न्यानो कपडा सहयोग गरेका छन्।

जिल्ला प्रशासन र प्रहरी कार्यालयको संयुक्त पहलमा आश्रममा आश्रित आमाबुबा तथा दाजुभाइहरूलाई एक छाक भोजन गराउनुका साथै २० थान न्यानो कम्बल र एक कार्टुन खाने तेल प्रदान गरिएको हो।

सहयोग हस्तान्तरणका क्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै आफ्नो क्षमताअनुसार सहयोग, माया र सद्भाव बाँड्न सके समाजमा धेरैको जीवनमा खुसी ल्याउन सकिने धारणा व्यक्त गरे।
उनीहरूले आश्रमलाई सानो सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै असहाय तथा बेसहाराको सेवामा निरन्तर समर्पित आश्रम परिवारप्रति धन्यवाद तथा सम्मान व्यक्त गरेका थिए।

सहयोगी मनहरूको साथ र सद्भावबाट सञ्चालन भइरहेको मानव सेवा आश्रमलाई पछिल्लो समय विभिन्न व्यक्ति तथा संघसंस्थाबाट सहयोग प्राप्त हुने क्रम बढ्दै गएको छ।










