गायिका आसा विसीले सुरु गरिन् वैवाहिक जीवनको नयाँ यात्रा,

-


     केपी कुमार जलन     
     मंसिर १४ गते २०८३ मा प्रकाशित


संघर्षका दिन सम्झिँदै सार्वजनिक गरिन् भावुक स्टाटस

बागलुङ । लोकदोहोरी तथा गायन क्षेत्रमा निरन्तर संघर्ष र मेहनत गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका आसा विसी वैवाहिक जीवनमा बाँधिएकी छन्।

उनले जीवनसाथीसँग नयाँ जीवनयात्रा सुरु गर्न लागेको खुसी सामाजिक सञ्जालमार्फत भावुक स्टाटस लेख्दै सार्वजनिक गरेकी हुन्।

गायिका विसीले आफ्नो सांगीतिक यात्राका संघर्ष, चुनौती, त्याग र मेहनतका दिन स्मरण गर्दै जीवनको नयाँ अध्यायबारे आफ्ना भावना व्यक्त गरेकी छन्।

गायन क्षेत्रमा स्थापित हुन गरेको संघर्षलाई जीवनको अविस्मरणीय अनुभवका रूपमा उल्लेख गर्दै उनले विगतका चुनौतीले आफूलाई थप बलियो बनाएको बताएकी छन्।

विगतका अनुभवलाई सम्झनाका रूपमा सँगाल्दै अब जीवनसाथीसँगै नयाँ यात्रा अघि बढाउने उल्लेख गरेकी उनले आगामी दिनमा एकअर्काका सपना, खुसी र दुःखमा साथ दिँदै माया, विश्वास र समझदारीका साथ जीवन बिताउने अपेक्षा व्यक्त गरेकी छन्।