ढोरपाटनमा ३७ खोप ढुवानीकर्तालाई एकदिने तालिम

-


     हिडन खबर    
     मंसिर १३ गते २०८३ मा प्रकाशित


बागलुङ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा ढोरपाटन नगरपालिकामा खोप ढुवानीकर्ताका लागि एकदिने तालिम सम्पन्न भएको छ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सञ्चालित तालिममा ढोरपाटन, बडिगाड, तमानखोला र निसीखोला गाउँपालिकाका ३७ जना खोप ढुवानीकर्ताको सहभागिता रहेको थियो।

खोप तथा खोपजन्य सामग्रीको सुरक्षित ढुवानी, फिर्ता र उचित व्यवस्थापन गर्ने सीप तथा क्षमता अभिवृद्धि गर्नु तालिमको मुख्य उद्देश्य रहेको कार्यालयले जनाएको छ। तालिममा खोप खेर जाने दर न्यूनीकरण, खोपजन्य फोहोरको उचित व्यवस्थापन तथा स्वास्थ्य सेवा प्रवाहका क्रममा हुन सक्ने संक्रमण नियन्त्रणका विषयमा समेत प्रशिक्षण दिइएको थियो।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख एवं जनस्वास्थ्य प्रशासक प्रविण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ढोरपाटन नगरपालिकाका जनस्वास्थ्य अधिकृत भूमिश्वर शर्मा र प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले सहजीकरण गरेका थिए।

तालिमले खोप ढुवानी तथा व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।