
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३, धुवाँखोरमा लायन्स क्लब अफ निसीखोला बागलुङको सचिवालय उद्घाटन गरिएको छ।
सचिवालय उद्घाटन कार्यक्रममा लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष हेमेन्द्र घर्ती र लायन्स क्लब अफ बुर्तिबाङका अध्यक्ष मनु कुँवरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नवस्थापित क्लबको सफलताको कामना गर्नुभयो।
उहाँहरूले लायन्स क्लबले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै निसीखोलामा स्थापना भएको क्लबले पनि स्थानीयस्तरमा सामाजिक तथा परोपकारी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि लायन्स जोन पर्सन तेजेन्द्र खत्रीले लायन्स क्लब एउटा संस्था मात्र नभई स्वच्छ सोच, इमानदार कर्म र मानवीय सेवाको भावनासहित समाजका लागि काम गर्ने व्यक्तिहरूको साझा अभियान भएको बताउनुभयो।
उहाँले लायन्स क्लबको लोगो र पोसाक संस्थाको पहिचान तथा गरिमासँग जोडिएको विषय भएकाले यसको प्रयोग गर्दा संस्थागत मर्यादा कायम राख्नुपर्नेमा जोड दिनुभयो। संस्थाको लोगो तथा पोसाक अनुमति र निर्धारित प्रक्रियाबिना प्रयोग गर्न नमिल्ने उल्लेख गर्दै उहाँले यसको गरिमा जोगाउने जिम्मेवारी सबै सदस्यको भएको बताउनुभयो।
कार्यक्रममा क्लबका कोषाध्यक्ष ताराबहादुर घर्ती, सदस्यहरू, लायन्स क्लब अफ बुर्तिबाङका कोषाध्यक्ष शान्ति लोचन तथा प्रथम उपाध्यक्ष रमिता रोका सर्बुजालगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा उपस्थित क्लबका सदस्यहरूलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, क्लब स्थापनाका लागि भौतिक तथा आर्थिक सहयोग पुर्याउने सहयोगीहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।
लायन्स क्लब अफ निसीखोलाका अध्यक्ष अशोक कार्कीको अध्यक्षता तथा सचिव शिव कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
लायन्स क्लब अफ निसीखोलाका अध्यक्ष अशोक कार्कीले सचिवालय उद्घाटनसँगै यस क्षेत्रका नागरिकलाई मानवीय तथा सामाजिक सेवाका गतिविधि घरदैलोमै पुर्याउन थप सहज हुने बताउनुभयो। सचिवालय स्थापनाले स्थानीय नागरिकसँग प्रत्यक्ष सम्पर्क र समन्वय गर्न सहज हुनुका साथै आवश्यक सहयोग तथा सामाजिक सेवाका कामलाई प्रभावकारी रूपमा अघि बढाउन मद्दत पुग्ने उहाँको भनाइ थियो।











