विश्व मधुमेह दिवसमा लायन्स डिस्ट्रिक्ट ३२५ केद्वारा निःशुल्क मधुमेह परीक्षण

-


     हिडन खबर    
     कार्तिक २९ गते २०८३ मा प्रकाशित


काठमाडौं । विश्व मधुमेह दिवसको अवसरमा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालको आयोजनामा निःशुल्क मधुमेह परीक्षण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

लायन्स क्लब अफ मनास्लु गणेश हिमाल (LCK Manaslu Ganesh Himal) तथा लियो क्लब अफ मनास्लु गणेश हिमालको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा सहभागीहरूको निःशुल्क मधुमेह परीक्षण गर्नुका साथै मधुमेह रोगबाट बच्ने उपाय, समयमै स्वास्थ्य परीक्षणको आवश्यकता र स्वस्थ जीवनशैली अपनाउनुपर्ने विषयमा सचेतना अभिवृद्धि गरिएको थियो।

कार्यक्रममा इन्टरनेसनल डाइरेक्टर (PID) बालकृष्ण बरालकोटी, डिस्ट्रिक्ट गभर्नर (DG) रमेश अधिकारी, डिष्ट्रिक्ट टिमका पदाधिकारी तथा वरिष्ठ लायन्स लिडरहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सफल बनाउन प्राविधिक सहयोग पुर्‍याउने टेक्निसियन अञ्जु थापासहित लायन्स तथा लियो सदस्य र सहयोगी सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।

कार्यक्रमका संस्थापक अध्यक्ष तथा डिस्ट्रिक्ट एक्जुकेटिभ चिफ लायन राजनप्रसाद काप्रीले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै सचेत हुनु र नियमित स्वास्थ्य परीक्षण गर्नु महत्वपूर्ण रहेको बताए।

उनले सानो प्रयासबाट पनि नागरिकलाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउन सकिने उल्लेख गर्दै स्वस्थ समाज निर्माणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए।

मधुमेह अर्थात् डायबिटिज शरीरमा रगतमा चिनी (ग्लुकोज) को मात्रा आवश्यकभन्दा बढी हुने दीर्घकालीन स्वास्थ्य समस्या हो। समयमै परीक्षण, सन्तुलित खानपान, नियमित शारीरिक व्यायाम र स्वस्थ जीवनशैली अपनाउन सके मधुमेहको जोखिम कम गर्न तथा रोगको प्रभाव नियन्त्रण गर्न सकिन्छ।

कार्यक्रमबाट करिब १०० जना लाभान्वित भएका छन्। निःशुल्क मधुमेह परीक्षण तथा जनचेतनामूलक कार्यक्रमबाट १०० जना लाभान्वित भएको कार्यक्रमका संस्थापक अध्यक्ष तथा डिस्ट्रिक्ट एक्जुकेटिभ चिफ लायन राजनप्रसाद काप्रीले जानकारी दिए।

‘सेवा नै धर्म हो, मानवता नै हाम्रो पहिचान हो’ भन्ने भावनासहित लायन्सले स्वास्थ्य सचेतना र सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।