
बागलुङ । गत असोज ११ गते बागलुङको निसीखोला गाउँपालिकामा आएको बाढीपहिरोबाट प्रभावित परिवारलाई पाँच लाख रुपैयाँ नगदसहित राहत सामग्री वितरण गरिएको छ।
बाढीपहिरोबाट मानवीय तथा ठूलो भौतिक क्षति भएपछि पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले लायन्स क्लब अफ निसीखोलाको पहलमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूबाट सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो।

अभियानबाट संकलित पाँच लाख रुपैयाँ ३९ घरपरिवारलाई वितरण गरिएको लायन्स क्लब अफ निसीखोलाका अध्यक्ष अशोक कार्कीले जानकारी दिए।
राहत वितरणका क्रममा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिपरिवार १२ हजार ५०० रुपैयाँ नगदसहित राहत सामग्री उपलब्ध गराइएको थियो।

त्यसैगरी, पूर्ण रूपमा घर क्षति भएका परिवारलाई क्षतिको अवस्थाका आधारमा ‘क’ र ‘ख’ गरी दुई समूहमा विभाजन गरेर प्रतिपरिवार क्रमशः १३ हजार र सात हजार रुपैयाँका दरले नगद सहयोग हस्तान्तरण गरिएको अध्यक्ष कार्कीले बताए।

यसैगरी, लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन (एलसीआईएफ) बाट प्राप्त चामल, दाल, तेल, नुन, जिरा, बेसार, ब्ल्याङ्केट, डसना, बाल्टी र मग लगायतका अत्यावश्यक राहत सामग्रीसमेत वितरण गरिएको थियो।
विपद्का कारण पीडामा परेका परिवारलाई तत्काल राहत पुर्याउने र मानवीय सेवामार्फत दुःखमा साथ दिने उद्देश्यले अभियान सञ्चालन गरिएको क्लबले जनाएको छ।
प्राकृतिक विपद्पछि प्रभावित परिवारको पुनःस्थापना, सुरक्षित आवास र जीविकोपार्जनका लागि थप सहयोग आवश्यक देखिन्छ।











