बागलुङमा अवैध रूपमा स्लेट ढुङ्गा ओसारपसार गर्ने दुई ट्रक प्रहरी नियन्त्रणमा

-


     हिडन खबर    
     कार्तिक ३० गते २०८३ मा प्रकाशित


बागलुङ । बागलुङमा अवैध रूपमा स्लेट ढुङ्गा ओसारपसारमा संलग्न दुईवटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार जिल्लाको काठेखोला गाउँपालिका–२, अछेते बजारस्थित सडकखण्डमा नियमित सवारीसाधन जाँच गर्ने क्रममा अवैध रूपमा ठूलो परिमाणमा स्लेट ढुङ्गा ओसारपसार गरिरहेका दुई ट्रक फेला परेका हुन्।

प्रहरीले ग २ ख १९६६ र ग २ ख ४३६९ नम्बरका ट्रक नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि बागलुङ नगरपालिकाको कार्यालयमा पठाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायण अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।

प्राकृतिक स्रोतसाधनको अवैध उत्खनन, संकलन तथा ओसारपसारले वातावरणीय सन्तुलन र प्राकृतिक सम्पदामा असर पार्न सक्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायले नियमित अनुगमन र कानुनी कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक देखिन्छ।