
बागलुङ । राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको आयोजनामा खोप ढुवानीकर्ताका लागि एकदिने तालिम सम्पन्न भएको छ।

सोमबार प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको सभाहलमा आयोजित तालिममा खोप तथा खोपजन्य सामग्रीको सुरक्षित ढुवानी, फिर्ता तथा उचित व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो।

खोप ढुवानीकर्ताको सीप तथा क्षमता अभिवृद्धि गर्ने, खोप खेर जाने दर न्यूनीकरण गर्ने, खोप सेवाका क्रममा उत्पादन हुने फोहोरको उचित व्यवस्थापन गर्ने र स्वास्थ्य सेवा प्रवाहका क्रममा हुन सक्ने संक्रमण नियन्त्रण गर्ने उद्देश्यले तालिम आयोजना गरिएको कार्यालयले जनाएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका तथ्याङ्क अधिकृत घनश्याम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनस्वास्थ्य अधिकृत टीकाराम भण्डारीले तालिमको उद्देश्यबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

तालिममा प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्री, मलेरिया इन्स्पेक्टर कमला थापा र फेयरमेड बागलुङका टिम लिडर गणेश बरुवालले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा बागलुङ, जैमिनी र गलकोट नगरपालिका तथा ताराखोला, बरेङ र काठेखोला गाउँपालिकाका खोप ढुवानीकर्ताहरूको सहभागिता रहेको थियो।










