
बागलुङ। किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य (ASRH) सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम बागलुङमा सम्पन्न भएको छ।

प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङको आयोजनामा कात्तिक १५ र १६ गते सञ्चालन भएको दोस्रो ब्याचको अभिमुखीकरण कार्यक्रममा विभिन्न स्थानीय तहका २० जनाको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत अनुशा शर्मा र समिता घिमिरेले सहजीकरण गर्नुभएको थियो।

अभिमुखीकरणका क्रममा किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्यको महत्व, वर्तमान अवस्था र प्रमुख समस्या, परिवार नियोजन, यौनजन्य संक्रमण, एचआईभी/एड्स, सुरक्षित मातृत्व, बालविवाह, लैङ्गिक हिंसा तथा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवाका विषयमा छलफल गरिएको थियो।

कार्यक्रमलाई सहभागितामूलक र प्रभावकारी बनाउन समूहकार्य, भूमिका निर्वाह, विचारमन्थन, घटनामा आधारित छलफल तथा मूल्य र दृष्टिकोण रूपान्तरणसम्बन्धी विधि प्रयोग गरिएको थियो। यसबाट सहभागीहरूको ज्ञान, सीप र किशोरकिशोरीप्रतिको सकारात्मक दृष्टिकोण अभिवृद्धि गर्ने प्रयास गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमले स्थानीय तहमा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, स्वास्थ्य सेवा प्रवाहमा सुधार तथा सम्बन्धित निकायबीच समन्वय र सहकार्य बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
















