बागलुङमा जुवा खेलिरहेका नौ जना पक्राउ, १ लाख ६४ हजार नगद बरामद

-


     हिडन खबर    
     कार्तिक १८ गते २०८३ मा प्रकाशित


बागलुङ । बागलुङमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट १ लाख ६४ हजार ९२५ रुपैयाँ नगद र ४३८ पत्ती तास बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मंगलबार (२०८३ कात्तिक १७ गते) दिउँसो करिब ४ बजे बागलुङ नगरपालिका–२ हल्लनचोकस्थित अमर खड्काको तीनतले पक्की घरको तेस्रो तलामा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

प्रहरी निरीक्षक चिरञ्जीवी अधिकारीको कमाण्डमा खटिएको १० जनाको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा नौ जनालाई फेला पारी नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूलाई साँझ ६ बजे जिल्ला प्रहरी कार्यालय बागलुङमा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ। जुवा खेलाइएको भनिएको स्थान जिल्ला प्रहरी कार्यालयबाट करिब ५०० मिटर उत्तरमा पर्छ।

घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।