महँगी र जनजीविकाका मुद्दा उठाउँदै कांग्रेस जैमिनीको नयाँ कार्यसमिति सक्रिय

-


     सुजन आचार्य     
     कार्तिक १६ गते २०८३ मा प्रकाशित


बागलुङ । नेपाली कांग्रेस जैमिनी नगर कार्यसमितिले महँगी नियन्त्रण, जनजीविका र स्थानीय विकासका मुद्दालाई प्राथमिकता दिँदै संगठनात्मक गतिविधि अघि बढाउने भएको छ।

जैमिनी नगरपालिका–१ कुश्मीसेरामा सम्पन्न बैठकमा दोस्रो नगर अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ।

बैठकमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको जनजीवनमा पारेको असर, महँगी नियन्त्रण, स्थानीय विकास र नागरिकका आधारभूत समस्याबारे छलफल भएको थियो।

नयाँ कार्यसमितिले जनताका समस्या पहिचान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने तथा विकास निर्माण र सामाजिक सरोकारका विषयमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

पार्टीलाई संगठनात्मक गतिविधिमा मात्र सीमित नराखी जनताको सुखदुःख र जनसरोकारका विषयमा जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्नेमा बैठकले जोड दिएको छ।