पर्वतमा बोलेरो दुर्घटना, दुई बालबालिकासहित पाँच जना घाइते

-


     हिडन खबर    
     असाेज २८ गते २०८३ मा प्रकाशित


पर्वत, असोज २८। पर्वतको फलेवास नगरपालिका–३, सिमखेतमा बोलेरो पिकअप दुर्घटना हुँदा दुई बालबालिकासहित पाँच जना घाइते भएका छन्।

प्रहरीका अनुसार बुधबार राति करिब ८:२० बजे कुश्माबाट भेडावारीतर्फ जाँदै गरेको ग ३ च ८७०३ नम्बरको डबल क्याब बोलेरो पिकअप उकालोमा रोकेर सामान झार्ने क्रममा पछाडि सरेर सडकबाट करिब ८० मिटर तल खसेको हो।

दुर्घटनामा फलेवास नगरपालिका–३, शंकरपोखरीकी ११ वर्षीया समृद्धि अधिकारी, ३३ वर्षीया सन्तु गौतम, उनकी दुई वर्षीया छोरी सलिना गौतम र ५० वर्षीया जयलक्ष्मी अधिकारी तथा फलेवास नगरपालिका–२, भेडावारीकी ५५ वर्षीया सुमित्रा थापा घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था सामान्य र दुई जनाको अवस्था मध्यम छ। घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल कुश्मा पठाइएको छ।

दुर्घटनापछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो। सडक खुलाउने प्रयास भइरहेको र दुर्घटनामा परेको पिकअप घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
पिकअप चालक भानुभक्त शर्मा प्रहरी नियन्त्रणमा छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।