ग्यास कृत्रिम अभाव सिर्जना गरे कडा कारबाही हुने

- जिल्ला प्रशासन काठमाडौंको चेतावनी, उपभोक्तालाई जानकारी दिन आग्रह

-


     हिडन खबर    
     भाद्र २८ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ २८ । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास प्राप्त गर्न नसकेको गुनासो बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय काठमाडौंले ग्यास विक्रेता तथा वितरकलाई लक्षित गर्दै अत्यन्त जरुरी सूचना जारी गरेको छ।

प्रशासनले ग्यास उद्योग वा डिलरबाट प्राप्त ग्यास उपभोक्तालाई तत्काल बिक्री–वितरण गर्न निर्देशन दिएको छ। बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने, ग्यास मौज्दात गरी लुकाउने वा बिक्री नगरी भण्डारण गर्ने कार्य भेटिए कालोबजारीसम्बन्धी प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पछिल्लो समय बजार अनुगमनलाई तीव्र बनाएको जनाएको छ। अनुगमनका क्रममा ग्यास लुकाइएको, कृत्रिम अभाव सिर्जना गरिएको वा उपभोक्तामाथि अनुचित व्यवहार गरिएको पाइए तत्काल नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाइने प्रशासनको भनाइ छ।

प्रशासनले उपभोक्तालाई पनि सचेत रहन आग्रह गर्दै कुनै विक्रेता वा वितरकले ग्यास स्टक लुकाएको, बिक्री वितरण नगरेको वा तोकिएको मूल्यभन्दा बढी रकम लिएको जानकारी भए सूचना अधिकारीको मोबाइल नम्बर ९८५१३३८३२२ मा खबर गर्न अनुरोध गरेको छ।

हाल काठमाडौं उपत्यकामा ग्यास आपूर्ति नियमित रहेको सम्बन्धित निकायले जनाएको भए पनि केही स्थानमा वितरण व्यवस्थापन र कृत्रिम अभावका गुनासा बढेपछि प्रशासनले निगरानी र अनुगमनलाई थप कडाइ गरेको जनाएको छ।