
पोखरा, भदौ २५ । रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट सिर्जित विषम परिस्थितिलाई मध्यनजर गर्दै पर्यटन तथा संस्कृति क्षेत्रसँग सम्बन्धित ‘तीज सांस्कृतिक महोत्सव तथा उद्यमी मेला–२०८३’ स्थगित गरिएको छ।
पोखराको लेकसाइडस्थित बाराहीघाटमा आयोजना गर्ने तयारी गरिएको उक्त महोत्सव तत्कालका लागि स्थगित गर्ने निर्णय आयोजक संस्था टेवानले गरेको जनाएको छ।
यसैगरी, भदौ १४ गते आयोजना गर्ने तय गरिएको तीजको दर खाने कार्यक्रमसमेत रद्द गरिएको छ। दर खाने कार्यक्रमका लागि छुट्याइएको रकम विपद् प्रभावित नागरिकको सहयोगमा खर्च गर्ने निर्णय गरिएको टेवानकी अध्यक्ष शोभा न्यौपाने पाण्डेले जानकारी दिइन्।
उनका अनुसार रसुवाको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ।
अध्यक्ष पाण्डेले तीजको सांस्कृतिक उत्सव मनाउनुभन्दा विपद्का कारण समस्यामा परेका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्राथमिकता दिँदै महोत्सव स्थगित गर्ने र राहत कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरिएको बताइन्।
हिड्न खबर डटकमसँग कुरा गर्दै उनले विपद्को यस कठिन घडीमा सबै संघसंस्था तथा नागरिकलाई मानवीय सहयोगमा जुट्न आग्रह समेत गरिन्।










