ग्यास अभाव विवादबीच उद्योगमन्त्री यादवको राजीनामा

-


     हिडन खबर    
     भाद्र २५ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ २५ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्।

बजारमा देखिएको ग्यास अभाव र त्यससम्बन्धी आफ्नै अभिव्यक्तिका कारण विवादमा परेकी मन्त्री यादवले आज प्रधानमन्त्री बालेन्द्र साहलाई भेटेर राजीनामा बुझाएकी हुन्।

ग्यास आपूर्तिमा देखिएको समस्या र कालोबजारी नियन्त्रणमा सरकार प्रभावकारी हुन नसकेको भन्दै संसदीय समितिको बैठकमा सांसदहरूले मन्त्री यादवको भूमिकामाथि प्रश्न उठाएका थिए। त्यसक्रममा उनले ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएपछि थप विवाद चर्किएको थियो।

मन्त्री यादवले उद्योगी व्यवसायीलाई दोष दिएर जिम्मेवारीबाट पन्छिन खोजेको आरोपसमेत खेप्नुपरेको थियो। बढ्दो राजनीतिक दबाब र सार्वजनिक आलोचनाका बीच उनले अन्ततः पदबाट राजीनामा दिएकी हुन्।

यसअघि बिहीबार मन्त्री यादवले ग्यास उद्योगीमाथि कडा निगरानी र नियन्त्रण आवश्यक रहेको आशयको अभिव्यक्ति दिएकी थिइन्, जसलाई लिएर विभिन्न राजनीतिक तथा व्यावसायिक वृत्तमा आलोचना भएको थियो।

फाइल तस्बिर