प्रधानमन्त्री राहत कोषमा अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्चको २ लाख रुपैयाँ सहयोग

-


     हिडन खबर    
     भाद्र २५ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ २५ । रसुवामा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अन्तर्राष्ट्रिय बिहुँकोट विकास मञ्चले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख रुपैयाँ सहयोग गरेको छ।

मञ्चले जापानमा आयोजना गर्ने तयारी गरेको नेपाली महिला दिदीबहिनीहरूको महान् पर्व हरितालिका तीज विशेष कार्यक्रम स्थगित गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको रकमबाट सहयोग प्रदान गरेको जनाएको छ।

मञ्चका अध्यक्ष वेद कडेलका अनुसार रसुवामा आएको प्राकृतिक विपत्तिका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने निष्कर्षसहित कार्यक्रम स्थगित गरिएको हो। कार्यक्रमका लागि हालसम्म भएको खर्च कटाएर बाँकी बचत रकम २ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको उनले जानकारी दिए।

अध्यक्ष कडेलले तीज कार्यक्रमलाई सफल बनाउन मन, वचन र कर्मले सहयोग, समर्थन तथा हौसला प्रदान गर्ने सम्पूर्ण शुभेच्छुक, धार्मिक तथा सामाजिक व्यक्तित्वप्रति आभार व्यक्त गरेका छन्।

विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै मञ्चले विपद्का बेला मानवीय सहयोग र एकताको आवश्यकता अझ बढेको उल्लेख गरेको छ।