रसुवा प्रकोपपीडितका लागि सरस्वती महिला विकास समितिद्वारा रु ५१ हजार १०० सहयोग

-


     हिडन खबर    
     भाद्र २४ गते २०८३ मा प्रकाशित


बागलुङ, भदौ २४ । रसुवामा आएको प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरूको राहत तथा पुनःस्थापनाका लागि बागलुङ नगरपालिका–३ र ४ पाखाथरस्थित सरस्वती महिला विकास समिति ले रु ५१ हजार १०० सहयोग गरेको छ।

समितिमा आबद्ध दिदीबहिनीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समितिले जनाएको छ। प्राकृतिक विपद्का कारण प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सघाउ पुर्‍याउने उद्देश्यले रकम हस्तान्तरण गरिएको हो।

समितिले विपद्को यस कठिन घडीमा आफ्नो सानो सहयोगले प्रभावित परिवारहरूमा धैर्य, साहस र आशा जगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, प्रकोप प्रभावित सबै परिवारको शीघ्र उद्धार, राहत वितरण तथा पुनःस्थापनाको कार्य सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना समेत गरेको छ।

समितिले सहयोग संकलन अभियानमा साथ दिने सम्पूर्ण सदस्य, सहयोगदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।