राष्ट्रिय शोक दिवसमा लायन्स क्लब अफ निसिखोलाद्वारा दीप प्रज्वलन

-


     हिड्न खबरदाता     
     भाद्र २२ गते २०८३ मा प्रकाशित


बागलुङ, भदौ २२ – राष्ट्रिय शोक दिवसका अवसरमा लायन्स क्लब अफ निसिखोलाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको स्मृतिमा आयोजित कार्यक्रममा लायन्स क्लबका पदाधिकारी तथा सदस्य, सुरक्षा निकायका प्रतिनिधि र स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

क्लबका सचिव शिव कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्ष अशोक कार्कीले बाढीका कारण ज्यान गुमाएकाप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो।

वक्ताहरूले प्राकृतिक विपत्तिमा ज्यान गुमाएका नागरिकप्रति सम्मान व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेका थिए। राष्ट्रिय शोक दिवसको सन्दर्भमा आयोजित उक्त कार्यक्रम दीप प्रज्वलनसँगै सम्पन्न भएको क्लबले जनाएको छ।