
बागलुङ, भदौ २२ – बागलुङ नगरपालिका–६ स्थित श्री लहरेपिपल माध्यमिक विद्यालयको जुनियर रेडक्रस सर्कल तथा बाल क्लबले रसुवा लगायत बाढीबाट प्रभावित क्षेत्रमा सहयोगस्वरूप संकलित रकम ९ हजार ४ सय १५ रूपैयाँ हस्तान्तरण गरेको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि विद्यालयका विद्यार्थी बाट संकलित राहत रकम आइतबार आयोजित एक कार्यक्रमबीच प्रधानाध्यापक कुलराज शर्मालाई हस्तान्तरण गरिएको हो।

विद्यालय परिसरमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा बोल्दै वक्ताहरूले विपद्को घडीमा विद्यार्थीहरूले देखाएको मानवीय भावना प्रशंसनीय रहेको बताए। उनीहरूले सानो सहयोगले पनि विपद्मा परेका नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गर्दै मानवीय सेवामा सबैको साथ आवश्यक रहेको उल्लेख गरे।

विद्यालयका जुनियर रेडक्रस सर्कल तथा बाल क्लबले “साथी हात बढाऔँ, संकटमा साथ दिऔँ” भन्ने नारासहित राहत संकलन अभियान सञ्चालन गरेको थियो। संकलित रकम बाढीपीडितहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।

हाल रसुवा केन्द्रित बाढी विपद्पछि विभिन्न संघसंस्था, विद्यालय, सामाजिक अभियन्ता तथा सर्वसाधारणबाट राहत संकलन र सहयोग हस्तान्तरण अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ। पछिल्लो बाढीले रसुवा लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ भने उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू निरन्तर जारी छन्।









