रसुवाका बाढीपीडितसम्म राहत पुर्‍याउन लायन्सको कठिन यात्रा, राहत सामग्री हस्तान्तरण

-


     हिड्न खबरदाता     
     भाद्र २२ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ २२ । रसुवाको बेत्रावती क्षेत्रमा भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत सामग्री उपलब्ध गराउन लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ जी, नेपालका प्रतिनिधिहरूले कठिन यात्रा तय गर्दै राहत हस्तान्तरण गरेका छन्।

जहाँ आवश्यकता त्यहाँ लायन्स’ भन्ने भावनालाई आत्मसात् गर्दै लायन्सको टोली सेप्टेम्बर ५ को बिहान काठमाडौंबाट रसुवाको बेत्रावतीतर्फ प्रस्थान गरेको थियो। लगातारको वर्षा, हिलाम्मे कच्ची सडक, भौगोलिक विकटता तथा अत्यधिक सवारी चापका कारण राहत बोकेर गएको टोलीले यात्राका क्रममा विभिन्न कठिनाइ सामना गरेको जनाएको छ।

टोलीका अनुसार नुवाकोट हुँदै रसुवातर्फ जाने क्रममा बाढीपहिरो प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउन जाने विभिन्न संघसंस्था तथा राहत सामग्री बोकेका सवारीसाधनको लामो लाइनका कारण करिब दुई घण्टा पर्खिनुपरेको थियो। चिप्लो, भिरालो तथा हिलाम्मे सडकका कारण कतिपय स्थानमा उद्धारकर्मी र एक्स्काभेटरको सहयोगमा मात्रै सवारी साधन सञ्चालन सम्भव भएको थियो।

करिब १३ घण्टाको कठिन यात्रा पछि टोली पाटीखर्कमा रात बिताएर भोलिपल्ट बिहान पुनः यात्रा सुरु गर्दै बेत्रावतीस्थित बोगटीटार होल्डिङ सेन्टर पुगेको थियो।
त्यहाँ गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, स्थानीय अगुवा तथा पीडित परिवारको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको लायन्सले जनाएको छ। टोलीले बाढीपहिरोमा परिवारका सदस्य गुमाएका तथा घरबारविहीन बनेका परिवारलाई प्रत्यक्ष भेटेर समवेदना व्यक्त गर्नुका साथै आवश्यक राहत सामग्री समेत प्रदान गरेको जनाएको छ।

नेपाल सरकार तथा स्थानीय तहले अवलम्बन गरेको ‘एकद्वार प्रणाली’लाई सम्मान गर्दै होल्डिङ सेन्टरमार्फत राहत सामग्री हस्तान्तरण गरिएको र स्थानीय निकायको समन्वयमा प्रभावित परिवारसम्म सहयोग पुर्‍याइएको लायन्सको भनाइ छ।

लायन्स परिवारले बाढीपहिरोमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै राहत सामग्री, आर्थिक सहयोग, उद्धार तथा राहत अभियानमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगीदाता, लायन्स नेतृत्व तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट ३२५ जी, नेपालले विपद्को यस कठिन घडीमा प्रभावित समुदायको साथमा निरन्तर रहने प्रतिबद्धता समेत जनाएको छ।