
बागलुङ । नेपाली मौलिक कला, संस्कृति तथा लोकभाकाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘तेस्रो संस्करण खुला अनलाइन तीजगीत प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ।
धुनयात्रा (DhunYatra) को आयोजनामा हुने प्रतियोगितामा देश तथा विदेशमा रहेका नेपाली कलाकार तथा तीजगीतप्रेमीहरूले सहभागिता जनाउन सक्नेछन्।
प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीहरूका लागि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुनेले ५ हजार रुपैयाँ, द्वितीय हुनेले ३ हजार रुपैयाँ र तृतीय हुनेले २ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले सम्पादन नगरिएको (रअ भिडियो) भिडियो सामग्री पठाउनुपर्नेछ। प्रतियोगितामा सारङ्गी, मादल, बाँसुरी, हार्मोनियमलगायत नेपाली मौलिक बाजाहरू प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
प्रतियोगिताको नतिजा धुनयात्राको आधिकारिक फेसबुक पेजमा प्रकाशित भिडियोले प्राप्त गर्ने लाइक र सेयरको आधारमा निर्धारण गरिने जनाइएको छ।
नेपाली तीज पर्वको मौलिकता, लोकसंस्कृति तथा लोपोन्मुख लोकभाकालाई डिजिटल माध्यममार्फत व्यापक दर्शकमाझ पुर्याउने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ।
प्रतियोगिताको मुख्य प्रायोजक KIEC Education, Career and Migration, बागलुङ रहेको छ।
मौलिक तीजगीतको संरक्षण, प्रवर्द्धन तथा नयाँ प्रतिभाको खोजीमा केन्द्रित यस प्रतियोगिताले लोकसङ्गीतप्रेमी तथा नवप्रतिभाहरूलाई आफ्नो कला प्रस्तुत गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास आयोजकले लिएको छ।









