बाढीपीडितको राहतमा लायन्स क्लब अफ काठमाडौं टेम्पल मञ्जुश्रीको सहयोग

-


     हिडन खबर    
     भाद्र २१ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ २१ — लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं टेम्पल मञ्जुश्री ले नुवाकोटको सिमलचौर क्षेत्रका बाढीपीडित परिवारलाई अत्यावश्यक राहत सामग्री वितरण गरेको छ।

डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा बाढीबाट प्रभावित परिवारलाई ग्यासचुलो, प्रेसर कुकर, भाँडाकुँडा, सिरक, डसना लगायत दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीको प्याकेज हस्तान्तरण गरिएको हो।

हालै रसुवा, नुवाकोट लगायतका जिल्लामा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको क्लबले जनाएको छ।

मानवीय सेवामा निरन्तर सक्रिय रहँदै आएको लायन्स क्लब अफ काठमाडौं टेम्पल मञ्जुश्रीको पहलले विपद्का बेला पीडित परिवारलाई राहत पुग्ने विश्वास गरिएको छ। कार्यक्रमका सहभागीहरूले क्लबकी अध्यक्ष सुलोचना सहित सम्पूर्ण क्लब परिवारले देखाएको सामाजिक उत्तरदायित्व र सेवाभावको प्रशंसा गरेका छन्।

विपद्का बेला पीडित समुदायको साथमा उभिँदै राहत सामग्री वितरण गरेकोमा क्लब परिवारप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय सेवाका कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन शुभकामना व्यक्त गरिएको छ।