निशा सुनारको ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक

-


     केपी कुमार जलन     
     भाद्र २१ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ २१ । नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका निशा सुनारको नयाँ लोक–सांगीतिक कोसेली ‘लाली लपक्कै सारी सपक्कै’ सार्वजनिक भएको छ।

नेपाली मौलिकता, आकर्षक शब्द–संगीत तथा श्रव्य–दृश्य प्रस्तुतिका कारण गीतले सार्वजनिक भएलगत्तै दर्शक तथा श्रोतामाझ चर्चा बटुल्न थालेको छ।

गीतमा गायिका निशा सुनारसँगै लोकप्रिय गायक तथा सर्जक प्रकाश सपूतको स्वर रहेको छ। गीतको शब्द र संगीत प्रकाश सपूतकै रहेको छ भने संगीत संयोजन सुदीप सागरले गरेका छन्।

गीतको म्युजिक भिडियोमा चर्चित कलाकार निरुता सिंह, प्रकाश सपूत र बिन्दु बोहोराको अभिनय देख्न सकिन्छ। सुनील बीकेको निर्देशनमा तयार गरिएको भिडियोमा नेपाली पहिरन, संस्कृति र जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

मिठासपूर्ण स्वर, कर्णप्रिय संगीत र उत्कृष्ट छायांकन तथा प्रस्तुतीकरणका कारण गीतले छोटो समयमै दर्शक–श्रोताको सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण पक्षले जनाएको छ।

नेपाली लोक संस्कृतिको सुन्दर पक्षलाई समेटिएको ‘लाली लपक्कै सारी सपक्कै’ अहिले युट्युब लगायत विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक भइसकेको छ। गीतले नेपाली संगीतप्रेमीमाझ राम्रो स्थान बनाउने अपेक्षा गरिएको छ।