विपद् प्रभावितको सहयोगमा म्याक्सस नेपाल र हिमालय अर्गनाइजेसन, राहत कोषमा ५० लाख सहयोग

-


     हिड्न खबरदाता    
     भाद्र २१ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ २१ — रसुवा, नुवाकोट लगायत हालैको बाढी तथा विपद्बाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने उद्देश्यले म्याक्सस नेपाल र हिमालय अर्गनाइजेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेका छन्।

कम्पनीका तर्फबाट उक्त रकम बराबरको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको जनाइएको छ। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारहरूको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराइएको हो।

त्यसैगरी, लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपालको समन्वयमा नुवाकोटको त्रिशूलीस्थित दुई अस्थायी आश्रयस्थल—भैरूम माध्यमिक विद्यालय र त्रिशूली प्राथमिक विद्यालयमा करिब ३० लाख रुपैयाँ बराबरको सौर्य ऊर्जामा आधारित वाटर ट्रीटमेन्ट प्लान्ट जडान गरिएको छ। प्रति घण्टा एक हजार लिटर पानी शुद्धीकरण गर्न सक्ने क्षमता भएका ती प्लान्टमार्फत आश्रयस्थलमा बसिरहेका विपद् प्रभावित नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध हुने भएको छ।

संस्थाका अनुसार उक्त प्लान्टले तत्काल राहत शिविरमा रहेका परिवारलाई लाभ पुग्नेछ भने दीर्घकालीन रूपमा विद्यालयका विद्यार्थीहरू पनि लाभान्वित हुनेछन्। साथै आश्रयस्थलमा रहेका तथा आसपासका क्षेत्रमा बसोबास गरिरहेका प्रभावित परिवारलाई आधारभूत राहत सामग्रीसमेत वितरण गरिएको छ।

राहत टोली झन्डै १२ घण्टाको कठिन यात्रा पार गर्दै नुवाकोटको त्रिशूलीपारि प्रभावित क्षेत्रमा पुगेको थियो। टोलीले करिब ४०० जना प्रभावितका लागि डसना, सिरानी, तन्ना, औषधि तथा स्वास्थ्य सामग्री, खाद्यान्न, तरकारी, खाना पकाउने सामग्री, भाँडाकुँडा, पुरुष, महिला तथा बालबालिकाका लागि आवश्यक कपडालगायत विभिन्न अत्यावश्यक सामग्री वितरण गरेको जनाएको छ।

संस्थाले विपद् प्रभावित क्षेत्रमा राहत लिएर जाने संघसंस्था तथा व्यक्तिहरूलाई स्थानीय आवश्यकताको यथार्थ अवस्था बुझेर मात्रै सामग्री वितरण गर्न आग्रह गरेको छ। आवश्यकताअनुसारको सहयोगले राहत सामग्रीको प्रभावकारी उपयोग हुने र प्रभावित समुदायले वास्तविक लाभ पाउने संस्थाको भनाइ छ।

हाल रसुवा, नुवाकोट तथा अन्य बाढी प्रभावित क्षेत्रमा राहत, पुनःस्थापना र आधारभूत सेवाको आवश्यकता अझै कायम रहेको अवस्थामा विभिन्न संघसंस्था, निजी क्षेत्र र नागरिकस्तरबाट सहयोग अभियान जारी रहेको छ। विपद्को कठिन घडीमा पीडित परिवारको साथमा उभिनु मानवीय दायित्व र सामाजिक उत्तरदायित्व दुवै भएको संस्थाले जनाएको छ।