
काठमाडौं, भदौ २०
ब्रान्डरुट इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा चौथो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड–२०८३ शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ।
रसुवा लगायत विभिन्न जिल्लामा हालै गएको बाढीपहिरोका कारण मुलुक विपद्को चुनौतीसँग जुधिरहेका बेला पूर्वनिर्धारित कार्यक्रमअनुसार नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा अवार्ड समारोह आयोजना गरिएको हो।
नेपाली संगीत क्षेत्रका स्रष्टा, गायक–गायिका, संगीतकार तथा विभिन्न विधामा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट कलाकार तथा सर्जकलाई अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सच्चाइ केन्द्रका प्रकाशदीप गैरे र सुशीला गैरे, गीतकार तथा संगीतकार एकनारायण भण्डारी, दशक सम्मानबाट विक्रम बुढाथोकी, अनलाइनखबरका उपसम्पादक विष्णु शर्मा तथा गायक एवं कार्यक्रम प्रस्तोता राजेश वर्देवालाई सम्मान गरिएको थियो।
अवार्ड समारोहमा नेपाली संगीत क्षेत्रका चर्चित गायक, कलाकार, संगीतकर्मी, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
आयोजकका अनुसार नेपाली गीत–संगीतको विकास, संरक्षण तथा स्रष्टाको योगदानको कदर गर्ने उद्देश्यले अवार्ड कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ।











