पृथ्वी राजमार्ग सञ्चालनका लागि कृष्णभीरमा वैकल्पिक ट्र्याक निर्माण सुरु

-


     हिडन खबर    
     भाद्र १९ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ १९

पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा ल्याउन धादिङको कृष्णभीर क्षेत्रमा वैकल्पिक ट्र्याक निर्माण कार्य सुरु गरिएको छ।

मलेखु–मुग्लिन सडक आयोजनाका सहायक आवासीय इन्जिनियर अशोक देवकोटाका अनुसार कृष्णभीरको दुवैतर्फबाट दुई/दुई वटा एक्स्काभेटर परिचालन गरी ट्र्याक खोल्ने काम अघि बढाइएको छ। पहिरो प्रभावित स्थानभन्दा माथिल्लो भित्तो काटेर नयाँ ट्र्याक निर्माण गर्न थालिएको उनले जानकारी दिए।

उनका अनुसार सवारी आवागमन सहज हुने गरी करिब सात मिटर चौडाइको सडक निर्माण गर्ने लक्ष्यसहित काम भइरहेको छ। ट्र्याक निर्माणका लागि बिहीबारदेखि नै रुख कटान, सडक छेउका ग्याबिन संरचना हटाउने तथा आवश्यक तयारीका काम सुरु गरिएको थियो।

मलेखु–मुग्लिन सडक आयोजनाकी प्रमुख सजना अधिकारीले सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै तीव्र गतिमा काम भइरहेको बताइन्। उनले भदौ महिनाभित्रै पृथ्वी राजमार्ग पुनः सञ्चालनमा ल्याउने लक्ष्यसहित वैकल्पिक ट्र्याक निर्माण कार्य अघि बढाइएको जानकारी दिइन्।