बाढीपीडितका लागि बागलुङ कालिका भगवती गुठीको ११ लाख सहयोग

-


     हिड्न खबरदाता     
     भाद्र १९ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ १९

रसुवा र आसपासका क्षेत्रमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्रदान गरेको छ।

समितिले बिहीबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो। गुठीका अध्यक्ष रामबहादुर खड्का र सचिव निशान खड्काले संयुक्त रूपमा उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन्।

सहयोग हस्तान्तरण कार्यक्रममा बागलुङका प्रतिनिधिसभा सदस्य सुशील खड्काको समेत उपस्थिति रहेको थियो।

चेक ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले विपद्को कठिन घडीमा बागलुङ कालिका भगवती गुठीले देखाएको मानवीय संवेदनशीलता, सामाजिक उत्तरदायित्व र सहयोगी भावनाको प्रशंसा गरे। उनले प्राप्त रकम बाढीपीडितहरूको आवश्यकता र प्राथमिकताका आधारमा पारदर्शी तथा प्रभावकारी ढङ्गले राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यमा परिचालन गरिने प्रतिबद्धता व्यक्त गरे।

गुठीका सचिव निशान खड्काका अनुसार धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा सक्रिय बागलुङ कालिका भगवती गुठीले यसअघि पनि विभिन्न प्राकृतिक विपत्ति, दैवी प्रकोप तथा मानवीय संकटका बेला सहयोग गर्दै आएको छ। उनले विपद्बाट प्रभावित नागरिकहरूको दुःखमा साथ दिनु संस्थाको सामाजिक दायित्व भएको बताए।

हाल देशका विभिन्न संघसंस्था, धार्मिक प्रतिष्ठान, व्यवसायी तथा सर्वसाधारणले बाढीपीडितहरूको राहत तथा पुनःस्थापनाका लागि सहयोग अभियानलाई तीव्र बनाइरहेका छन्।