
काठमाडौं, भदौ १९ । नेपाली लोक तथा सांगीतिक क्षेत्रमा सक्रिय कलाकार एलिना रायमाझीको प्रस्तुति तथा निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘बाटो नहेरे आमा’ सार्वजनिक भएको छ।
आमाप्रतिको माया, प्रतीक्षा र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको गीतमा गायिका लक्ष्मी परियारको सुमधुर स्वर रहेको छ। गीतका शब्द तथा संगीत आयान न्यौपानेले सिर्जना गरेका हुन् भने संगीत संयोजन कृष्ण केसीले गरेका छन्।
गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन्। रेकर्डिस्टका रूपमा सुमन राना तथा खुमान रानाले काम गरेका छन्।
म्युजिक भिडियोमा एलिना रायमाझी, शिशिर पौडेल, विशाल रायमाझी र सुर्वीर पण्डित (दारी बा) लगायतका कलाकारको अभिनय रहेको छ। कलाकारहरूको अभिनयमार्फत गीतको भाव र कथालाई जीवन्त रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ।
भिडियोको निर्देशन एलिना रायमाझी स्वयंले गरेकी हुन्। प्रकाश खड्का एन्ड टिमले छायांकन गरेको भिडियोमा राजकुमार मगरले सम्पादन तथा रङ संयोजन गरेका छन्। संगीता चन्दको मेकअप र अर्जुन एडीको कोरियोग्राफी रहेको भिडियोको पोस्ट–प्रोडक्सन राजकुमार फिल्म्सले गरेको छ।
शीर्षकले नै आमाको माया, स्नेह र प्रतीक्षाको भाव झल्काउने भएकाले सार्वजनिक भएसँगै गीतले दर्शक तथा संगीतप्रेमीको ध्यान आकर्षित गरेको छ। संगीत र अभिनयमार्फत आमासँगको भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको यस सिर्जनाले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ।
एलिना रायमाझीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोलाई दर्शक तथा श्रोताले सकारात्मक प्रतिक्रिया दिने विश्वास निर्माण टिमले व्यक्त गरेको छ।










