
काठमाडौं, भदौ १८ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरूले रसुवा लगायतका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गरेका छन्।

सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको राहत कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं ग्लोबल युथ, लायन्स क्लब अफ जावलाखेल फ्रेन्ड्स र लायन्स क्लब अफ निरिका को संयुक्त पहलमा प्रभावित परिवारलाई अत्यावश्यक सामग्री उपलब्ध गराइएको हो।

राहत सामग्रीमा ११५ सेट भाँडाकुँडा (कुकर, कराही, थाल, गिलास र कचौरा), बालबालिकाका लागि १०० सेट लुगा (टिसर्ट, थर्मकोट, टोपी, मोजा र अन्डरवेयर), १०० सेट महिलाका पोसाक तथा १०० सेट पुरुषका लागि ट्राउजर र टिसर्ट समावेश रहेका थिए।

डिष्ट्रिक्टका सिनियर को–चिफ एड्भाइजर शीतल शर्मा, को–चिफ एड्भाइजर सन्तोष घिमिरेलगायत लायन्स नेतृत्वको टोलीले विदुर नगरपालिका–७ अन्तर्गत त्रिशूलीपारि सोले, अक्करे र कोलोनी क्षेत्रका घरबारविहीन तथा वास्तविक पीडित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ। राहत वितरण वडा नं. ७ का वडाध्यक्ष र नेपाल प्रहरीको रोहबरमा गरिएको थियो।

कार्यक्रममा समाजसेवी डा. केदार नरसिंह केसीले प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेका थिए। भौगोलिक विकटता र प्रतिकूल मौसमका बाबजुद दुई दिनको कठिन यात्रापछि राहत सामग्री प्रभावित समुदायसम्म पुर्याइएको लायन्सले जनाएको छ।

डिष्ट्रिक्ट ३२५ जे नेपालले विपद्को यस कठिन घडीमा सहयोग पुर्याउने सम्पूर्ण लायन्स लिडर, सदस्य, सहयोगी क्लब तथा दाताप्रति आभार व्यक्त गर्दै मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।










