बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै ‘फेस अफ आईटीसी आइकन’ कार्यक्रम स्थगित

-


     हिडन खबर    
     भाद्र १४ गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ १४ — देशका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि ‘फेस अफ आईटीसी आइकन’ कार्यक्रम स्थगित गरिएको छ।

आईटीसी आइकनकी प्रोपाइटर शोभा अर्यालले एक विज्ञप्ति जारी गर्दै विपद्को यस दुःखद घडीमा बाढी तथा पहिरो प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउन कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जानकारी दिएकी हुन्।

अर्यालका अनुसार तीजको अवसर पारेर आयोजना गर्ने तयारी गरिएको उक्त कार्यक्रम अब तीजपछि उपयुक्त मितिमा सञ्चालन गरिनेछ। कार्यक्रमको नयाँ मिति र समयबारे आवश्यक परामर्शपछि सार्वजनिक गरिने उनले बताइन्।

“देश शोक र पीडामा रहेका बेला मनोरञ्जनात्मक कार्यक्रमभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिनु आवश्यक ठानेका छौं,” विज्ञप्तिमा उल्लेख छ।
आईटीसी आइकनले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढी तथा पहिरो प्रभावित नागरिकलाई सहयोगका लागि सबैलाई आह्वान समेत गरेको छ।

कार्यक्रम स्थगनबाट सहभागी, प्रतिस्पर्धी, शुभेच्छुक तथा सहयोगीहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै आयोजकले सबैबाट सहयोग र समझदारीको अपेक्षा गरेको जनाएको छ।