१९औँ राष्ट्रिय पुस्तकालय दिवसका कार्यक्रम स्थगित

-


     हिडन खबर    
     भाद्र १३ गते २०८३ मा प्रकाशित


बागलुङ, भदौ १३ — विद्यामन्दिर पुस्तकालय, बागलुङले १९औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आयोजना गर्ने तयारी गरिएका सम्पूर्ण कार्यक्रमहरू हालका लागि स्थगित गरेको छ।

पुस्तकालयले शुक्रबार एक सूचना जारी गर्दै ‘बाल, युवा र वृद्ध : पुस्तकालय सबैको गन्तव्य’ भन्ने मूल नारासहित भदौ १४ र १५ गते सञ्चालन गर्ने पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरिएको जनाएको हो।

सूचनाअनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण देशभर शोक र संवेदनशील अवस्था सिर्जना भएको तथा ठूलो जनधनको क्षति भएको घटनाप्रति सम्मान जनाउँदै कार्यक्रम स्थगित गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको १९औँ राष्ट्रिय पुस्तकालय दिवस मूल समारोह समितिको निर्णयलाई समेत आधार मानेर पुस्तकालयको कार्यसमिति बैठकले उक्त निर्णय गरेको जनाएको छ।

पुस्तकालयका सचिव गोकुलप्रसाद कँडेलद्वारा जारी सूचनामा बाढी तथा पहिरोका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

कार्यक्रम स्थगनका कारण सहभागी हुन तयारी गरेका पाठक, अभिभावक, शुभेच्छुक तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै पुस्तकालयले परिस्थितिअनुकूल निर्णय भएपछि कार्यक्रमको नयाँ मिति छुट्टै सूचनामार्फत सार्वजनिक गरिने जनाएको छ।

विपद्को दुःखद घडीमा राष्ट्रिय एकता, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै विद्यामन्दिर पुस्तकालयले कार्यक्रम स्थगनको निर्णय गरेको जनाएको छ।