
काठमाडौं, भदौ ११ खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) को २४औँ स्थापना दिवस तथा २३औँ राष्ट्रिय परिषद् भेला काठमाडौंमा सम्पन्न भएको छ।

‘सुशासन, पारदर्शिता, जवाफदेहिता र समावेशिता : दिगो तथा गुणस्तरीय खानेपानी र सरसफाइको सुनिश्चितता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ क्षेत्रका समसामयिक चुनौती, सुशासन, पारदर्शिता, खानेपानीको गुणस्तर, जलवायु परिवर्तनको प्रभाव तथा उपभोक्ताका अधिकारका विषयमा व्यापक छलफल गरिएको फेडवासनका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिनुभयो।

कार्यक्रममा संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। भेलाले खानेपानी तथा सरसफाइ क्षेत्रका विद्यमान समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसमक्ष नीतिगत पहल र पैरवी गर्ने उद्देश्य लिएको जनाएको छ।

कार्यक्रममा पूर्वाधार विकास मन्त्रालयका सल्लाहकार डा. सञ्जीव विक्रम राणा, मन्त्रालयका सहसचिव रमाकान्त दवाडी, खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत खानेपानी गुणस्तर शाखाका प्रमुख रामेश्वर घिमिरेलगायतको सहभागिता रहेको थियो।

फेडवासन मुलुकभरका खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, समूह तथा संस्थाहरूको राष्ट्रिय छाता संगठन हो। महासंघको स्थापना २०६० साल भदौ १० गते भएको थियो।
संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० जुलाई २८ मा खानेपानी तथा सरसफाइलाई आधारभूत मानव अधिकारका रूपमा मान्यता दिएको थियो। नेपालको संविधानको धारा ३५ को उपधारा (४) ले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक सुनिश्चित गरेको छ।

महासंघले स्थापना कालदेखि नै खानेपानी तथा सरसफाइ क्षेत्रको नीतिगत पैरवी, उपभोक्ता संस्थाको क्षमता विकास, जनचेतना अभिवृद्धि तथा उपभोक्ताको हकहित संरक्षणका लागि सरकार र सरोकारवाला निकायसँग सहकार्य गर्दै आएको जनाएको छ।
फेडवासनले २४औँ स्थापना दिवस तथा २३औँ राष्ट्रिय परिषद् भेलालाई आगामी दिनमा खानेपानी तथा सरसफाइ क्षेत्रका चुनौती र अवसरबारे साझा धारणा निर्माण गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।









