बाढी–पहिरो पीडितलाई सहयोग गर्न लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालको आह्वान

-


     हिडन खबर    
     भाद्र १० गते २०८३ मा प्रकाशित


काठमाडौं, भदौ १० – लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के नेपालले नुवाकोट र रसुवा जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न सम्पूर्ण लायन्स सदस्य तथा क्लबहरूलाई सक्रिय हुन आह्वान गरेको छ।

डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारीले एक अपिल जारी गर्दै प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको र स्थानीय बासिन्दा कठिन परिस्थितिमा बाँच्न बाध्य भएको उल्लेख गरेका छन्। उनले विपद्को यस घडीमा लायन्सको मूल मन्त्र “वी सर्भ (We Serve)” लाई आत्मसात् गर्दै प्रभावित परिवारका लागि राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गर्न सबै क्लब, पदाधिकारी र सदस्यलाई एकजुट भएर तयारी अवस्थामा रहन आग्रह गरेका छन्।

गभर्नर अधिकारीले आवश्यकताअनुसार प्रभावित क्षेत्रमा राहत सामग्री वितरण, उद्धार तथा मानवीय सहयोगका कार्यक्रम सञ्चालन गर्न क्लब अध्यक्ष, क्याबिनेट सदस्य तथा लायन्स नेतृत्वलाई आपसी समन्वय र सहकार्य बढाउन अनुरोध गरेका छन्।

“सेवा नै हाम्रो पहिचान हो। विपद्को यस घडीमा प्रभावित परिवारसँग हातेमालो गरौं,” गभर्नर अधिकारीले जारी गरेको अपिलमा उल्लेख छ।
लायन्स डिष्ट्रिक्ट ३२५ के नेपालले विपद् प्रभावित क्षेत्रमा आवश्यक सहयोगका लागि सम्पूर्ण लायन्स परिवारलाई मानवीय सेवामा सक्रिय रूपमा जुट्न आह्वान गरेको छ।