
काठमाडौं । नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका तथा सर्जक रितु थापा मगरको नयाँ तीज गीत ‘परदेशी छोरी’ सार्वजनिक भएको छ।
गीतले विवाहपछि माइतीघरबाट टाढा बस्न बाध्य भएका छोरीचेलीहरूको मनोभाव, आमाबुबाप्रतिको माया, गाउँघरको सम्झना तथा तीजमा माइती फर्किन नपाउँदाको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। विशेषगरी परदेश र विभिन्न स्थानमा बसोबास गरिरहेका नेपाली छोरीहरूको भावनालाई गीतले जीवन्त बनाएको छ।
गीतमा जीवन थापा मगरको शब्द तथा संगीत रहेको छ भने रितु थापा मगरको स्वर सुन्न सकिन्छ। संगीत संयोजन बिनोद बजुरालीले गरेका छन्। खड्क बजुरालीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् भने राजेन्द्र बजुरालीको रेकर्डिङ रहेको गीत मालाश्री स्टुडियोमा तयार गरिएको हो।
गीतको म्युजिक भिडियोमा दिपा थापा मगर, ज्योति लोहनी, मनोज क्षेत्री, मनोज भण्डारी, कुशिला भण्डारी, शशी घिमिरे र कोपिला बोहोरालगायत कलाकारहरूको अभिनय रहेको छ। भिडियोको कथा, निर्देशन तथा कोरियोग्राफी रितु थापा मगर स्वयंले गरेकी हुन्। छायांकन तेजेन्द्र भण्डारीले गरेका छन् भने सम्पादन तथा रङ संयोजन विकास ग्यावालीले गरेका छन्।
‘परदेशी छोरी’ केवल मनोरञ्जनका लागि तयार गरिएको तीज गीत मात्र नभई माइतीघरबाट टाढा रहेका लाखौं नेपाली छोरीचेलीहरूको भावना, पारिवारिक सम्बन्ध र नेपाली समाजको यथार्थलाई समेटिएको सन्देशमूलक सिर्जना बनेको छ।
तीजको सांस्कृतिक महत्वलाई उजागर गर्दै तयार गरिएको यस गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने अपेक्षा गरिएको छ।









