
काठमाडौं ।साउन १४
नेपाली लोकदोहोरी संगीतका चर्चित गायक–गायिका गंगाराम परियार र शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘फूलै फूलमा भमरा नाचनी’ ले युट्युबमा ४० लाखभन्दा बढी दर्शकको साथ पाउँदै उल्लेखनीय सफलता हासिल गरेको छ।
लोकदोहोरी पारखी दर्शक–श्रोतामाझ अत्यधिक रुचाइएको उक्त गीतले युट्युबमा मात्र होइन, सामाजिक सञ्जाल टिकटकमा पनि व्यापक लोकप्रियता कमाएको छ। गीतमा आधारित ७० लाखभन्दा बढी भिडियो निर्माण भइसकेका छन्, जसले यसको लोकप्रियतालाई थप उचाइमा पुर्याएको छ।
मौलिक लोकलय, आकर्षक संगीत संयोजन, मन छुने शब्द तथा प्रभावशाली प्रस्तुतीकरणका कारण गीतले छोटो समयमै दर्शकको मन जित्न सफल भएको हो। गीतमा गंगाराम परियार र शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ भने लय गंगाराम परियार र शब्द जयराम परियारले सिर्जना गरेका हुन्।
सुनिल परियारको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र सुमित्रा तामाङको अभिनयले विशेष आकर्षण थपेको छ। भिडियोको जीवन्त प्रस्तुति र कलाकारहरूको अभिनयलाई दर्शकले सकारात्मक रूपमा ग्रहण गरेका छन्।
गीतको रेकर्डिङ लक्ष्मण सेन्चुरीले गरेका हुन् भने मिक्सिङ बिमल छिनालले गरेका छन्। निर्माण टिमको मेहनत, संगीतप्रेमी दर्शक–श्रोताको साथ र सामाजिक सञ्जालमा प्राप्त व्यापक समर्थनका कारण गीतले निरन्तर लोकप्रियता हासिल गरिरहेको निर्माण पक्षको भनाइ छ।
४० लाखभन्दा बढी युट्युब भ्युज र टिकटकमा ७० लाखभन्दा बढी भिडियो निर्माण हुनु नेपाली लोकदोहोरी संगीतप्रति दर्शकको बढ्दो आकर्षणको संकेत भएको कलाकारहरूको विश्वास छ। निर्माण टिमले गीतलाई माया, साथ र समर्थन गर्ने सम्पूर्ण दर्शक–श्रोताप्रति आभार व्यक्त गरेको छ।









