
बागलुङ, साउन १४
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापना तथा नयाँ नेतृत्वको शपथग्रहण (ज्वाइन्ट इन्डक्सन एण्ड इन्स्टलेसन सेरेमोनी) कार्यक्रम बागलुङको पश्चिम बुर्तिवाङमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा विभिन्न क्लबका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई औपचारिक रूपमा पदस्थापन गरिनुका साथै शपथग्रहण गराइएको थियो। नयाँ नेतृत्वले आगामी कार्यकालमा लायन्सको आदर्श वाक्य “वी सर्भ (We Serve)” लाई आत्मसात् गर्दै समाजसेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनलका पूर्व इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी, फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर विष्णुहरि फुयाल, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर हसनकुमार गोपाली तथा चिफ एडभाइजर मीनराज काफ्ले लगायतका वक्ताहरूले लायन्स अभियानको इतिहास लामो र गौरवपूर्ण रहेको बताएका थिए।

उनीहरूले लायन्स क्लबले जनताको सुख–दुःखमा साथ दिँदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन, रक्तदान तथा मानवीय सेवाका विविध क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएको उल्लेख गरे। यही सेवा भावनाका कारण लायन्स इन्टरनेशनल विश्वकै सबैभन्दा ठूलो सामाजिक सेवामूलक संस्थाका रूपमा स्थापित भएको उनीहरूको भनाइ थियो।
वक्ताहरूले समाजमा आवश्यकता परेका बेला निःस्वार्थ सेवा र सहयोग पुर्याउनु लायन्सको मूल दायित्व रहेको उल्लेख गर्दै आगामी दिनमा समुदायको आवश्यकता अनुसार थप प्रभावकारी, परिणाममुखी र दिगो कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा विभिन्न लायन्स क्लबका पदाधिकारी, सदस्य, समाजसेवी तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सेवा, मित्रता र नेतृत्वको भावनालाई अझ सुदृढ बनाउने विश्वासका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।










