
काभ्रे। जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई सामाजिक उत्तरदायित्वसँग जोड्दै युवा व्यवसायी, समाजसेवी, सञ्चारकर्मी तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन नवराज अधिकारीले मानव कल्याण समाज बाल सेवा घरका बालबालिकासँग खुशी साट्दै भोजन गराउनुभएको छ।
लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरको आयोजनामा सम्पन्न कार्यक्रममा ५८ जना बालबालिकालाई भोजन गराइनुका साथै लायन अधिकारीले बाल सेवा घरलाई रु. ११ हजार १११ नगद सहयोग प्रदान गर्नुभएको थियो। जन्मदिनको अवसरमा सेवाघर पुगेर बालबालिकासँग समय बिताउँदै उहाँले माया, आत्मीयता र सद्भाव साट्नुभएको थियो।
कार्यक्रममा थारु आयोगकी सदस्य माननीय शान्ति मोदी थारु, ओन्सरी कुँवर, विभिन्न क्षेत्रका सञ्चारकर्मी, समाजसेवी तथा सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी लायन्स क्लब अफ काठमाडौं इन्द्रेश्वरका जोन चेयरपर्सन लायन भेषराज अर्याल, अध्यक्ष नन्दलाल श्रेष्ठ, उपाध्यक्ष अप्सरा सत्याल, सचिव सुवाङ ढुंगाना, कोषाध्यक्ष उर्मिला ढुंगाना तथा सदस्यहरू अञ्जु श्रेष्ठ, पदमकला बोहोरा, हरिबोल अधिकारी, गुडराज श्रेष्ठलगायत लायन्स सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सो अवसरमा लायन नवराज अधिकारीले जन्मदिन जीवनको विशेष दिन भए पनि त्यसलाई सेवामूलक कार्यमार्फत मनाउँदा अझ अर्थपूर्ण बन्ने बताउनुभयो। बालबालिकासँग बिताएको प्रत्येक क्षण आफ्नो जीवनका लागि अमूल्य र अविस्मरणीय बनेको उहाँको भनाइ थियो।
कार्यक्रममा सहभागीहरूले जन्मदिनलाई तडकभडक र व्यक्तिगत उत्सवमा सीमित नराखी समाजका बालबालिकासँग खुशी साट्दै मानवीय सेवामा समर्पित गर्ने लायन अधिकारीको पहल प्रेरणादायी रहेको बताएका थिए।
लायन्सको मूल मन्त्र “We Serve” तथा “Sharing by Caring” को भावनाअनुरूप सम्पन्न उक्त कार्यक्रमले सामाजिक उत्तरदायित्व, मानवता र सहकार्यको सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ थियो।












