गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन

-


     हिडन खबर    
     श्रावण १ गते २०८३ मा प्रकाशित


पोखरा, साउन १

कोपिला नेपालद्वारा व्यवस्थापन हुँदै आएको गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्रको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ। जिल्ला समन्वय समिति (जिसस) कास्कीका प्रमुख लिलाधर पौडेलको नेतृत्वमा रहेको टोलीले केन्द्रको स्थलगत अनुगमन गरेको हो।

अनुगमनका क्रममा प्रमुख पौडेलले २०७९ असारको पहिलो सातातिर आफू जिल्ला समन्वय समिति कास्कीको प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै पोखरा–३३ स्थित आमाचौरमा रहेको उक्त भवन निरीक्षण गर्न पुगेको स्मरण गर्नुभयो। उहाँका अनुसार तत्कालीन गण्डकी प्रदेश सरकारले निर्माण सुरु गरेको भवन विभिन्न विवादका कारण करिब तीन वर्षसम्म अलपत्र अवस्थामा रहेको थियो।

पौडेलले तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सामाजिक विकासमन्त्री नरदेवी पुनको कार्यकालमा सुरु भएको परियोजना लामो समयसम्म सञ्चालनमा आउन नसक्दा राज्यको करोडौँ रुपैयाँ लगानी जोखिममा परेको बताउनुभयो। उहाँले जिल्ला समन्वय समितिले निरन्तर समन्वय, खबरदारी र सहजीकरण गर्दै समाधानको बाटो खोजेकै कारण केन्द्र सञ्चालनमा आउन सफल भएको उल्लेख गर्नुभयो।

“गण्डकी प्रदेशभरका हिंसापीडित, आश्रयविहीन महिला तथा बालबालिकाले सेवा पाएको देख्दा अत्यन्त खुसी लागेको छ,” प्रमुख पौडेलले भन्नुभयो।

जिल्ला समन्वय अधिकारी नवराज बरालले केन्द्रको सञ्चालन र व्यवस्थापनमा देखिएका चुनौती तथा आवश्यकताबारे जानकारी लिन अनुगमन गरिएको बताउनुभयो। उहाँले विद्यमान समस्याको समाधान तथा केन्द्रको दीर्घकालीन सञ्चालनका लागि आवश्यक समन्वय जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जिसस कास्कीका महिला तथा बालबालिका सम्बन्धी फोकल पर्सन लक्षु शर्माले प्रदेश विकास समस्या समाधान समितिका बैठक तथा विभिन्न समन्वय प्रक्रियामार्फत केन्द्र सञ्चालनका लागि गरिएको प्रयास सफल भएको बताउँदै खुसी व्यक्त गर्नुभयो।

केन्द्र व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेको कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले प्रमुख पौडेल नेतृत्वको टोलीले केन्द्र सञ्चालनमा पुर्‍याएको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले केन्द्रको वर्तमान अवस्था, चुनौती तथा भावी योजनाबारे जानकारी गराउनुभएको थियो।

सिलवालका अनुसार हाल केन्द्रमा ७ वर्षमुनिका ११ जना, ७ देखि १८ वर्षमुनिका १९ जना बालबालिका तथा ११ जना महिलासहित ४८ जनाले आश्रय लिइरहेका छन्। गत असोजदेखि हालसम्म केन्द्रले १२० जनालाई सेवा प्रदान गरिसकेको छ।

केन्द्रमा आश्रितहरूलाई मनोसामाजिक परामर्शका साथै विभिन्न सीपमूलक तालिम प्रदान गरिँदै आएको छ। तरकारी खेती, पशुपालन, आधुनिक कृषि प्रविधि, हस्तकला तथा रुचिअनुसारका सीप विकास र सशक्तीकरणका कार्यक्रम सञ्चालन भइरहेको सिलवालले जानकारी दिनुभयो।

उहाँले केन्द्र परिसरमा खानेपानीको समस्या रहेको उल्लेख गर्दै समाधानका लागि स्थानीय वडा कार्यालय र पोखरा महानगरपालिकासँग पहल गरिदिन आग्रह गर्नुभयो। साथै, परिसरमा रहेको अर्को पुरानो भवनको निर्माण सम्पन्न गर्न सहयोगदाताको खोजी भइरहेको जानकारी दिनुभयो।

करिब ६ वर्षसम्म अलपत्र अवस्थामा रहेको उक्त परियोजना गण्डकी प्रदेश सरकारले निर्माण सम्पन्न गरेपछि हाल कोपिला नेपालको व्यवस्थापन तथा पोखरा महानगरपालिकाको समन्वयमा सञ्चालनमा आएको हो।

उक्त केन्द्रको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २०८२ साउन १६ गते गर्नुभएको थियो।