
काठमाडौं । निर्माता जनक घर्ती मगरले नयाँ चलचित्र ‘आकाश वर्षा’ निर्माण गर्ने घोषणा गरेका छन्। चलचित्रको शीर्षक सार्वजनिक गर्दै उनले आफ्नो नयाँ परियोजनाबारे जानकारी दिएका हुन्। चलचित्र ‘मितज्यू’ प्रदर्शनमा आएको छोटो समयमै उनले अर्को चलचित्र निर्माणको घोषणा गरेका हुन्।
जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने यस चलचित्रको निर्देशन सुदीप भजुले गर्नेछन्। सार्वजनिक गरिएको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको दृश्य देखाइएको छ। पोस्टरमा बादल, वर्षा तथा पृष्ठभूमिमा पहाडी दृश्य समेटिएको छ, जसले मानवीय जीवनका दुःख, सुख र संघर्षलाई संकेत गरेको देखिन्छ। सिमसिमे वर्षाले जीवनका खुसीका क्षणहरूलाई पनि प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ।
निर्माता जनक घर्ती मगरका अनुसार चलचित्र विशुद्ध प्रेमकथामा आधारित (लभ स्टोरी) हुनेछ। यद्यपि चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिक टिमबारे हालसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा प्रेमकथामा आधारित चलचित्र कम बन्ने क्रममा रहेका बेला जनकले यही विधामा चलचित्र निर्माण गर्न लागेका हुन्। उनले यसअघि सामाजिक कथावस्तुमा आधारित दुई चलचित्र निर्माण गरिसकेका छन्।
निर्माता जनक स्वयंको परिकल्पनामा बन्न लागेको चलचित्रका लेखक अमिर मगर रहेका छन्।
जनकले यसअघि निर्माण गरेका ‘घरज्वाइँ’ र ‘मितज्यू’ चलचित्रले दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेका थिए। ‘घरज्वाइँ’ व्यावसायिक रूपमा सफल चलचित्रका रूपमा स्थापित भएको थियो भने ‘मितज्यू’ले समीक्षकबाट राम्रो प्रशंसा बटुलेको थियो।
चलचित्र ‘आकाश वर्षा’ को देशव्यापी वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठ नेतृत्वको आरआर फिल्म्सले लिएको छ।
Drive Link: https://drive.google.com/drive/folders/1NBoQPZ62HUfwJvScLOq3sSs4B0RzAXbc?usp=drive_link











