क्यान्सरपीडितलाई लायन्स क्लबद्वारा मेडिकल सामग्री तथा आर्थिक सहयोग

-


     राजेशचन्द्र राजभण्डारी     
     असार २९ गते २०८३ मा प्रकाशित


Screenshot

काठमाडौं, असार २९

‘हामी सेवा गर्छौं’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै विश्वकै ठूलो सामाजिक संस्था लायन्स क्लबले मानवीय सेवाका गतिविधिलाई निरन्तरता दिएको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत सञ्चालन भइरहेको सप्ताहव्यापी सेवा कार्यक्रमको क्रममा लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायक र लायन्स क्लब अफ काठमाडौं नयाँबजारको संयुक्त आयोजनामा क्यान्सरपीडित राजु कुसुवार माझीलाई आवश्यक स्वास्थ्य सामग्री तथा आर्थिक सहयोग प्रदान गरिएको छ।

मकवानपुरको बागमती गाउँपालिकाका निवासी माझी हाल थानकोटमा उपचाररत छन्। उनको उपचार तथा दैनिक जीवनलाई सहज बनाउन सुविधा सम्पन्न मेडिकल बेड, एयर म्याट्रेस, ह्विलचेयर, डायपर तथा नगद सहयोग हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

उक्त सहयोग समाजसेवी भेषराज पोखरेल तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका सेकेन्ड भाइस गभर्नर हसन गोपालीको पहल र सिफारिसमा उपलब्ध गराइएको हो।

मानवीय संवेदनासँग जोडिएको यस सहयोगले उपचाररत बिरामी र उनका परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरिएको छ। सामाजिक उत्तरदायित्व र सेवाभावलाई व्यवहारमा उतार्दै लायन्स क्लबले समाजका विपन्न, असहाय तथा पीडित समुदायको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

स्थानीयवासी तथा सरोकारवालाहरूले यस्तो मानवीय कार्यको प्रशंसा गर्दै सामाजिक सेवाका यस्ता अभियानलाई निरन्तरता दिन आग्रह गरेका छन्।

सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका गभर्नर रमेश अधिकारी ,फस्ट भाइस गभर्नर बिष्णुहरि फुयाल सेकेन्ड भाइस गभर्नर हसन कुमार गाेपाली लगायतका लायन्स लिडरहरूकाे सक्रिय सहभागीता रहेको थियो ।