मौलिक तिज गीत ‘दिदि भाइ’ सार्वजनिक हुँदै, दाजु–बहिनीको आत्मीय सम्बन्ध उजागर गर्ने

-


     केपी कुमार जलन     
     असार २८ गते २०८३ मा प्रकाशित


हरितालिका तिजको अवसर पारेर मौलिकता, पारिवारिक भावना र नेपाली संस्कृतिलाई केन्द्रमा राखेर तयार गरिएको नयाँ तिज गीत ‘दिदि भाइ’ सार्वजनिक हुने भएको छ।

दर्शक–श्रोताको मन जित्ने उद्देश्यसहित तयार गरिएको उक्त गीतले दिदी–भाइबीचको माया, स्नेह, आत्मीयता र पारिवारिक सम्बन्धलाई भावनात्मक ढंगले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।

गीतमा कृष्ण अखेली र पूर्णकला बिसीको सुमधुर स्वर रहेको छ भने संगीत कृष्ण अखेलीको रहेको छ। गीतका शब्द शिव अखेलीले सिर्जना गरेका हुन्। गीतको भिडियो कृष्ण अखेली युट्युब च्यानलमार्फत सार्वजनिक गरिने तयारी गरिएको छ।

गीतको प्रचार सामग्रीमा समेटिएको संवाद, “के छ दिदि हालखबर, भिनाजुलाई कस्तो छ ?” ले दाजु–बहिनीबीचको आत्मीय सम्बन्ध र पारिवारिक सद्भावलाई झल्काएको छ।

निर्माण टोलीका अनुसार पछिल्लो समय तिज गीतमा बढ्दै गएको विकृतिभन्दा फरक शैलीमा मौलिकता, संस्कृतिप्रतिको सम्मान र पारिवारिक सम्बन्धलाई प्राथमिकता दिँदै गीत तयार गरिएको हो। यसले तिजको वास्तविक मर्म र नेपाली समाजमा रहेको पारिवारिक मूल्यलाई उजागर गर्ने विश्वास लिइएको छ।

सार्वजनिक हुने तयारीमा रहेको ‘दिदि भाइ’ गीतले यस वर्षको तिजमा दर्शक–श्रोतामाझ मौलिक स्वाद र पारिवारिक भावनाले भरिएको नयाँ सांगीतिक कोसेलीका रूपमा स्थान बनाउने अपेक्षा गरिएको छ।