
बागलुङ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ निसीखोला बागलुङले सामाजिक सेवा, पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षणलाई जोड दिँदै बागलुङ जिल्लाकाे निसी खाेला गाउँ पालिका र रुकुम जिल्लाको संगम स्थल चाैरीखर्क क्षेत्रमा हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ।

क्लबले सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजना गरिएको हाइकिङमा क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने चौरीखर्क पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको क्षेत्र भएकाले यसको थप प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ निसीखोलाका अध्यक्ष लायन अशोक कार्कीले जानकारी दिए।

उनका अनुसार प्राकृतिक सौन्दर्यले भरिपूर्ण चौरीखर्क क्षेत्रको संरक्षणसँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले हाइकिङ कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा सहभागीहरूले प्राकृतिक सम्पदाको संरक्षण, स्वच्छ वातावरण र जिम्मेवार पर्यटनको आवश्यकताबारे समेत सचेतना फैलाएका थिए।

कार्यक्रमका क्रममा सर्वसाधारण तथा पर्यटकहरूलाई जथाभावी फूल नटिप्न, वातावरणीय सन्तुलन बिग्रने गतिविधि नगर्न तथा प्राकृतिक सम्पदाको संरक्षणमा सहयोग गर्न आग्रह गरिएको थियो। प्राकृतिक स्रोत र जैविक विविधताको संरक्षण सबैको साझा दायित्व भएको भन्दै सहभागीहरूले पर्यटन विकाससँगै वातावरण संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।
लायन्स क्लबले सेवा, मानवता र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्ता गतिविधिले स्थानीय पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।











