
बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा गरिएको गाँजा खेती नष्ट गरेको छ।
प्रहरीले सञ्चालन गरेको अभियानअन्तर्गत निसीखोला गाउँपालिका–६ भलकोट, ताराखोला गाउँपालिका–५ ठुलोहिले, ताराखोला गाउँपालिका–५ सानोहिले, ताराखोला गाउँपालिका–२ खुलडाँडा तथा गलकोट नगरपालिका–४ मिलनचोक र नुवाकोट क्षेत्रमा सार्वजनिक तथा केही निजी जग्गामा लगाइएको करिब १९ रोपनी क्षेत्रफलमा फैलिएको गाँजा फडानी गरी नष्ट गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईका अनुसार अवैध लागूऔषधको उत्पादन, ओसारपसार तथा दुरुपयोग नियन्त्रणका लागि जिल्लाभर निरन्तर निगरानी र नियन्त्रण अभियान सञ्चालन भइरहेको छ। उनले लागूऔषधजन्य गतिविधिसम्बन्धी कुनै पनि सूचना भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालीन नम्बर १०० मा सम्पर्क गरी सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरे।
लागूऔषधको अवैध उत्पादन र प्रयोगले समाजमा विभिन्न प्रकारका सामाजिक, आर्थिक तथा स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउने भएकाले यसको नियन्त्रणमा स्थानीय समुदाय, जनप्रतिनिधि, अभिभावक तथा सुरक्षा निकायबीचको सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
यसैबीच, गण्डकी प्रदेश सभाले औषधीय तथा औद्योगिक प्रयोजनका लागि नियमनसहित गाँजा खेतीलाई वैधानिकता दिने सम्बन्धी विधेयक हालै सर्वसम्मत रूपमा पारित गरेको छ। विधेयक पारित भएसँगै आवश्यक प्रक्रिया पूरा गरी सरकारी निकायमा दर्ता भएका कम्पनी वा संस्थाले अनुमति लिएर व्यावसायिक रूपमा गाँजा खेती गर्न सक्ने व्यवस्था गरिएको छ। अनुमति प्रक्रिया, दस्तुर तथा सञ्चालन मापदण्ड भने नियमावलीमार्फत तय गरिने जनाइएको छ।
यद्यपि, गण्डकी प्रदेश गाँजा खेतीसम्बन्धी कानुन निर्माण गर्ने पहिलो प्रदेश बने पनि यसको पूर्ण कार्यान्वयनका लागि सङ्घीय कानुनसँगको समन्वय आवश्यक रहेको विज्ञहरूको भनाइ छ। सङ्घीय कानुनले स्पष्ट व्यवस्था नगरेसम्म प्रदेशले बनाएको कानुन कार्यान्वयनमा केही कानुनी जटिलता रहने देखिएको छ।
एकातर्फ औषधीय तथा औद्योगिक प्रयोजनका लागि नियमनसहित गाँजा खेतीको सम्भावना खोजिँदै गएको छ भने अर्कोतर्फ अवैध रूपमा गरिने उत्पादन, बिक्री वितरण र दुरुपयोगविरुद्ध सुरक्षा निकायको अभियान जारी रहेको छ। यसले कानुनी खेती र अवैध खेतीबीचको स्पष्ट भिन्नता बुझ्न तथा कानुनको पालना गर्न सबै नागरिक सचेत हुनुपर्ने सन्देश दिएको छ।











