
पोखरा ।असार २७
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत रहेको लायन्स क्लब अफ लेखनाथ सुनगाभाले नयाँ कार्यकालको पदभार ग्रहणसँगै सञ्चालन गरेको सप्ताहव्यापी सेवामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

क्लबकी अध्यक्ष लायन जिना मगरको नेतृत्वमा आयोजित कार्यक्रममार्फत सामाजिक सेवा, मानव कल्याण, शिक्षा, स्वास्थ्य तथा नेतृत्व विकाससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गरिएको क्लबले जनाएको छ।

कार्यक्रमअन्तर्गत पहिलो दिन मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन वितरण, वृक्षारोपण तथा अन्य सेवामूलक कार्यहरू सम्पन्न गरिएको थियो। दोस्रो दिन पोखरा महानगरपालिका–६ स्थित कोपिला नेपालको संरक्षणमा रहेका विशेष जटिल परिस्थितिका बेवारिसे नवजात शिशुदेखि वृद्ध महिलासम्मका आश्रितहरूलाई खाद्यान्न, आवश्यक सामग्री तथा लत्ताकपडा वितरण गरिएको थियो।

तेस्रो दिन पोखरा महानगरपालिका–२९ पट्नेरी निवासी कुमार सुनार र सुनिता विककी ९ वर्षीया छोरी सारुन विक, जो रक्त क्यान्सरबाट पीडित छिन्, उनको उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो।

यस्तै चौथो दिन पोखरा महानगरपालिका–२६ डाँडाको नाकस्थित श्रीकृष्ण प्रणामी वृन्दावन धाममा अध्ययनरत बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरिएको थियो। पाँचौँ दिन पोखरा महानगरपालिका–२७ स्थित ग्ल्यामर ब्युटी क्लब एण्ड ट्रेनिङ सेन्टरमा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो।

छैटौँ दिन सोही स्थानमा महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले रोजगारमूलक ब्युटिसियन कोर्सको उद्घाटन गरिएको थियो भने सातौँ तथा अन्तिम दिन श्रीकृष्ण प्रणामी वृन्दावन धाम परिसरमा सरसफाइ कार्यक्रम सञ्चालन गरी सप्ताहव्यापी सेवा अभियानको समापन गरिएको क्लबले जनाएको छ।

कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने संस्थापक अध्यक्ष, प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिगण, लायन्स सदय, सहयोगी संस्था, सञ्चारकर्मी तथा सम्पूर्ण शुभेच्छुकप्रति क्लबले आभार व्यक्त गरेको छ।
क्लबकी अध्यक्ष जिना मगरले लायन्सको मूल मन्त्र ‘वी सर्भ (We Serve)’ लाई व्यवहारमा उतार्दै समुदायका आवश्यकता सम्बोधन गर्ने यस्ता सेवामूलक कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने बताइन्।

लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपालका
एडिन्सल क्याविनेट सेक्रेटरी रिता पाैडेलले
समाजसेवामा सबैको साथ, सहयोग र सहभागिताले नै लायन्स अभियानलाई थप प्रभावकारी र जीवन्त बनाएको उल्लेख गरिन्।











