
नेपाली मौलिक कला, संस्कृति, भाका तथा परम्पराको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्ने उद्देश्यसहित ‘धुन माटो’ कार्यक्रमको औपचारिक उद्घाटन असार १३ गते काठमाडौंमा हुने भएको छ।
नेपालका गाउँबस्ती, कुना–कन्दरामा लुकेर रहेका मौलिक भाका, शब्द, संस्कृति, रहनसहन, स्थानीय उत्पादन तथा पर्यटनको प्रवर्द्धन गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
पुर्खाका पालादेखि गाइँदै आएका मौलिक लोकभाका र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्याउने अभियानस्वरूप ‘धुन माटो’ अघि बढाइएको हो।कार्यक्रममार्फत अग्रज स्रष्टा तथा कलाकारलाई सम्मान, अतिथिहरूको सत्कार तथा नवप्रतिभाहरूलाई प्रोत्साहन गरिने बताइएको छ।
देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी, विभिन्न संघ–संस्था र शुभेच्छुकहरूको साथ, माया र हौसलाले कार्यक्रमलाई औपचारिक रूपमा शुभारम्भ गर्न लागिएको आयोजकको भनाइ छ।
उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन सम्पूर्ण कला, संस्कृति तथा लोकसंगीतप्रेमीहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ।










