
लेखनाथ — बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार सम्पन्न छैटौँ संस्करणको खुला डुंगा दौड प्रतियोगितामा फेवा डुंगा व्यवसायी संगठनले उपाधि हात पारेको छ।
महिला तथा पुरुष दुवैतर्फको प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो स्थानमा विजय हासिल गर्दै फेवाले उपाधि कब्जा गरेको हो।महिला तर्फ एक हजार मिटर दुरीको दौडमा फेवा डुंगा व्यवसायी समितिकी सन्तमाया जलारीको टोलीले २० मिनेट १६ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान प्राप्त गर्यो।
फेवाकै उषा गुरुङको टोलीले २० मिनेट ४९ सेकेन्डमा दुरी पार गर्दै द्वितीय स्थान हासिल गर्यो भने दिलसुभा गुरुङको टोलीले २१ मिनेट १७ सेकेन्डमा दुरी पार गर्दै तृतीय स्थानमा पुगेको छ।
नानुमाया जलारीको टोलीले २१ मिनेट ४१ सेकेन्डमा दुरी पार गर्दै सान्त्वना स्थान प्राप्त गर्यो।पुरुष तर्फ १५ सय मिटर दुरीको दौडमा फेवा डुंगा व्यवसायी संगठनका चन्द माझीको टोलीले २४ मिनेटमा दुरी पार गर्दै प्रथम स्थान प्राप्त गर्यो।
फेवाकै सुदर्शन मगरको टोलीले २५ मिनेट ४६ सेकेन्डमा दुरी पार गर्दै द्वितीय स्थान हासिल गर्यो भने दिपक मगरको टोलीले २६ मिनेट १४ सेकेन्डमा दुरी पार गर्दै तृतीय स्थानमा पुगेको छ। राजु जलारीको टोलीले २६ मिनेट ४३ सेकेन्डमा दुरी पार गर्दै सान्त्वना पुरस्कार हात पारेको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धनमा आयोजित प्रतियोगितामा महिला तथा पुरुष दुवै तर्फका विजेता टोलीलाई क्रमशः प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ५ हजार तथा सान्त्वनालाई ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रतियोगितामा पुरुष तर्फ २६ टोली र महिला तर्फ ९ टोलीले सहभागिता जनाएका थिए। बेगनासतालको महत्व बुझाउन, सम्भावित जोखिमबारे सचेतना फैलाउन तथा खेलमार्फत आन्तरिक पर्यटक भित्र्याउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले गरेका थिए। उनले यस किसिमका प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्दै स्थानीय संघ–संस्था तथा व्यवसायीहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बेगनासताललाई चितवन र लुम्बिनी जस्ता गन्तव्यसँग जोडेर पर्यटकको बसाइ लम्ब्याउने अवधारणा तयार भएको जानकारी दिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य छत्रघर आत्रेय, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारी, बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष मित्रलाल भण्डारी, होटल तथा रेष्टुरेन्ट एसोसिएसनका अध्यक्ष सुरेश लामिछाने, सामाजिक व्यक्तित्व राममणी अधिकारीलगायतले मन्तव्य राखेकासक्छुकार्यक्रम संस्थाका अध्यक्ष नवराज बाँस्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो।
स्वागत निवर्तमान अध्यक्ष रबिराज कँडेलले गरेका थिए भने सञ्चालन कृष्ण ढुंगानाले गरेका थिए l











