नुवाकोटमा राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३ को तयारी तीव्र

-


     हिडन खबर    
     जेठ २८ गते २०८३ मा प्रकाशित


नुवाकोट । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको ३१औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३ को तयारी तीव्र पारिएको छ।

प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गतेसम्म नुवाकोटको विदुर–४ स्थित प्रशिक्षण केन्द्रमा सञ्चालन हुने जनाइएको छ।

नेपालको लोकसंस्कृति संरक्षण, स्रष्टाको सम्मान तथा नयाँ प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा देशभरका कलाकार, सर्जक तथा लोकदोहोरीकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतियोगिताले नेपाली लोकदोहोरी गीतको विकास, प्रवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।

कार्यक्रममा विभिन्न प्रदेश तथा जिल्लाबाट आएका कलाकारबीच प्रतिस्पर्धा हुने, साथै लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनका विषयमा विशेष छलफल हुने बताइएको छ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय, प्रदेश तथा जिल्ला समितिहरूको समन्वयमा आयोजना हुने यस प्रतियोगिताले नेपाली लोकसंगीत क्षेत्रलाई थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।