बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुँदै

-


     हिड्न खबरदाता     
     जेठ २७ गते २०८३ मा प्रकाशित


लेखनाथ, जेठ २७ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा जेठ २७ गते लेखनाथस्थित बेगनासतालमा छैटौं संस्करणको खुला पुरुष तथा महिला डुंगा दौड प्रतियोगिता आयोजना हुने भएको छ।

बेगनासतालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, ताल क्षेत्रमा हुन सक्ने सम्भावित दुर्घटना तथा जोखिमबारे सचेतना फैलाउने, तालको महत्वबारे जानकारी गराउने तथा खेलकुदमार्फत आन्तरिक पर्यटक आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष नवराज बाँस्तोलाले जानकारी दिनुभयो।

अध्यक्ष बाँस्तोलाका अनुसार पुरुषतर्फ बेगनासताल डुंगाघाटबाट रातोटुँडा र कँडेलटुँडाबीचको करिब दुई किलोमिटर दूरीमा तथा महिलातर्फ बेगनासताल डुंगाघाटदेखि पिप्लेटुँडासम्मको एक किलोमिटर दूरीमा प्रतिस्पर्धा गराइनेछ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धनमा सञ्चालन हुने प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम हुने टोलीले १५ हजार रुपैयाँ, द्वितीयले १० हजार रुपैयाँ, तृतीयले ५ हजार रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त गर्ने टोलीले ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने निर्णायक समितिका संयोजक एवं समितिका निवर्तमान अध्यक्ष रविराज कँडेलले जानकारी दिनुभयो।

प्रतियोगितामा महिला र पुरुषतर्फ गरी २२ टोलीको सहभागिता रहने आयोजकको अपेक्षा छ। प्रत्येक टोलीमा तीन जना डुंगा चालक रहनेछन्।

प्रतियोगिता सफल बनाउन समितिका अध्यक्ष नवराज बाँस्तोलाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरी तयारीलाई तीव्रता दिइएको छ। प्रतियोगितामा सहभागी हुन टोली दर्ता निःशुल्क गरिएको छ भने प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ।