‘झलि’को लहर विदेशसम्म : गायक अर्जुन सापकोटा नेपाल फेस्टिभल डार्विनका लागि अस्ट्रेलिया प्रस्थान

-


     केपी कुमार जलन     
     जेठ २७ गते २०८३ मा प्रकाशित


नेपाली संगीत क्षेत्रमा पछिल्लो समय गायक अर्जुन सापकोटाको नाम विशेष चर्चामा रहेको छ। उनको स्वरमा सार्वजनिक भएको ‘झलि’ गीतले छोटो समयमै श्रोतामाझ उल्लेखनीय लोकप्रियता हासिल गर्दै सामाजिक सञ्जालदेखि विभिन्न डिजिटल प्लेटफर्मसम्म व्यापक चर्चा बटुलिरहेको छ।

सुमधुर प्रस्तुति, मन छुने शब्द र अर्जुनको आकर्षक गायन शैलीका कारण ‘झलि’ धेरै संगीतप्रेमीहरूको रोजाइमा पर्न सफल भएको छ। विशेषगरी युवापुस्तामाझ गीतले छुट्टै प्रभाव छोडेको देखिन्छ।

‘झलि’को यही सफलताबीच अर्जुन सापकोटा अस्ट्रेलिया प्रस्थान गरेका छन्। उनी आगामी जुन १३ मा डार्विनमा आयोजना हुने ‘नेपाल फेस्टिभल डार्विन २०२६’ मा सहभागी हुनेछन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्दर्न टेरिटोरीको आयोजनामा हुने उक्त भव्य सांस्कृतिक महोत्सवमा अर्जुनले आफ्ना चर्चित गीत तथा सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।

नेपालमा मात्र नभई विदेशमा रहेका नेपाली समुदायमाझ पनि अर्जुनका गीतहरू लोकप्रिय बन्दै गइरहेका छन्। ‘झलि’बाट प्राप्त सफलताले उनको सांगीतिक यात्रालाई थप उचाइ दिएको संगीतकर्मीहरूको भनाइ छ।

नेपाली मौलिक संगीतलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्यका साथ अस्ट्रेलिया पुगेका अर्जुन सापकोटाको प्रस्तुतिको प्रतीक्षामा त्यहाँ रहेका नेपालीहरू उत्साहित देखिएका छन्। महोत्सवले नेपाली कला, संस्कृति र संगीतको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।